डाको न बोलायो, लिँडे पुच्छर डोलायो

चर्चित ढुंगेल
तपाईँको ‘आलु–चना’ चपाउने क्षमता जति छ त्यति नै आलोचना पचाउने क्षमता छ कि छैन ? प्रसस्त लालपूर्जा भए पनि शरिरका पार्टपूर्जाले कर्म गर्न छोडेपछि मान्छेले पानी पनि पचाउन सक्दैन । पानी समेत पचाउन नसक्नेलाई डा. भगवान कोइरालाले पनि बचाउन सक्दैन ।


    कवि मनोज बोगटीले भनेका छन्, ‘आलोचना पनि आफ्नै सन्तान हो, जस्लाई कसैले स्वीकार गर्दैन ।’ भोग्नसम्म भोगेर भागेर हिँडेको मान्छेले आफ्नै सन्तानलाई अपनाउन आनाकानी गर्छ । कुनै बजारु आइमाइको कोखबाट जन्मिएको सन्तानले बाउको नाम नपाएजस्तै मान्छेले आफैले जन्माएको आलोचनारुपी सन्तानलाई अस्वीकार गर्छ । कस्तो ममताहिन र घिनैघिनको दलदलमा फसेको छ आजको मान्छे । मानौँ उसको अभिष्ट नै प्रसंसा सुन्नु हो । आलोचना सहन नसक्नेले सार्वजनिक पदमा रहन पनि नसक्नु पर्ने हो तर पद र प्रतिष्ठाका लागि बिष्टमा पनि जिब्रो चोप्ने धृष्टतामा लम्बेतान हिँडिरहेछ आजको मान्छे । बुढो गोरुले गाइलाई ब्याउने बनाउन सक्दैन । यही भएर उखान भन्छ, ‘बुढो गोरुले गाइ ओगट्यो, अल्छी राँगोले दाईँ ओगट्यो ।’

 एउटा पुरानो नेपाली उखान भन्छ, ‘आफ्ना आङको भैँसी नदेख्ने, अरुका आङको जुम्रो देख्ने’ । यो उखानको अर्थ खोज्न रास्लाफान, मिसाइद वा दुखान गइरहनु पर्दैन, न त समाल, अलखोर या सनैया नै पुग्नुपर्छ । तपाईँलाई थाहा छ यसको अर्थ र भाव, तपाईँभित्रै छ यसको अर्थ । मैले अथ्र्याइरहनु हो भने ‘इन्द्रका अघि स्वर्गको बयान’ गरेजस्तै हुन्छ । तरै पनि मैले कनीकुथी अथ्र्याउनुपर्दा भन्नैपर्छ कि ‘आफ्नो कुरुप बिचारको ‘ब्ल्याक होल’ जत्रो टाटो नदेख्नेले अरुको सद्बिचारको कोठीलाई सिङ्गो आकास जत्रो देखिदिनु’ नै माथिको उखानको स्लील अर्थ हो । यसैलाई मैले अत्तरआधुनिक अर्थले हेरेको छु र भनेको हुँ, ‘अरुलाई लागे ‘खुच्चिङ्ग’, आफुलाई लागे ‘बक्सिङ्ग’ ।’

कतारी नेपाली श्रमिक डायस्फोरामा खुच्चिङ्ग ख्वाउने र बक्सिङ्ग देखाउनेहरुको कुनै कमी छैन । यि अ/गुणहरुको विकास पनि यिनै खुच्चिङ्गे र बक्सिङ्गेहरुले गरेका हुन् । पदको भारी बोकेर हिँडेको मान्छेले आलोचनाको तोक्मा भिर्न सक्नुपर्छ । खुकुरी बोक्नेले दाप र सपेराले साप नबोके के बोक्छ त ? माइबाप भनेर वा जर्साप भनेर पाउ मोल्ने जमाना रहेन अहिलेको । गणतन्त्रको माटोमा प्रजातन्त्रको बाटो बनाएर हिँडेको मान्छेले पञ्चायतको नियत राख्नु प्रसंसापूर्ण कदम होइन, आलोचनायुक्त क्षण हो । आलोचना पचाउन हाँसको जस्तो किड्नी हुनु पर्दैन, पर्छ त केवल शान्तसँग सोच्न सक्ने धैर्यता ।
खुट्टा तान्नु र छिर्की हान्नु नेपालीहरुको पुरानो तर बंशाणुगत संस्कार हो । अरुको प्रगतिमा जल्नु र अरुको दुर्गतीमा थपडी मार्नु पनि पुरानै संस्कार हो । अरुको खोइरो खन्नु र मुखमा आएजति भन्नु पनि पुरानै मौलिक शैली हो । तिललाई पहाड र पहाडलाई तिल बनाउनु, आसेपासे लेपासेलाई काखी च्याप्नु, राम्रोलाई होइन हाम्रोलाई बोक्नु, खोक्न पाएँ भन्दैमा बाह्रैमासे दमको रोगीले जस्तो नन्स्टप खोक्नु पनि नेपालीहरुको परम्परा, रितीरिवाज र चालचलन हो ।

तपाईँ सामाजिक संजालको जंजालमा कत्तिको बिचरण गर्नुहुन्छ ? गर्नुहुन्छ र कतारी नेपाली श्रमिक डायस्फोरामा बसेर कसैको आलोचना गर्नुहुन्छ भने सावधान । सिस्नुपानी नेपालले देउसी खेल्दा ‘तपाईँका घरमा बन्दुक पस्ला’ भनेजस्तै तपाईँको क्यापमै आएर मुखमा बुजो लाएर जालान् । झन् कसैलाई हिरो र कसैलाई जिरो भनेर भन्नुभयो भने त तपाईँको हुर्मत लिन तपाईँकै कम्पनिमा आइपुग्लान् ।

अव फेसबुकको वालमा ओहोदाका मान्छेलाई चित्त दुखाउने कुरो गर्नुभयो भने तपाईँको पित्त फुट्ने दिन आए । प्रसंसा कमाउने काम गर्न छोडेर आलोचित हुने काम गर्ने तर कसैले छिरिक्क त्यो बारे बिचार राख्दा उसलाई अचार बनाउन हुल बाँधेर आउने यहाँको चलनलाई कमसेकम तपाईँले बुझ्नुपर्छ । बुझिसकेपछि तपाईँले वालमा यस्तो लेख्न पाउनुहुनेछ, ‘महाशय, तपाईँले नेपाली दु:खीदरिद्रहरुलाई सप्लाइमा बेचेर कमाउनु भएकोमा धन्यवाद π घरघरै गएर वालमा लेखेको आलोचना सहन नसकेर थर्काउन सफल हुनु भएकोमा बधाई π मिठामिठा भाषण र स्वादिला स्वादिला रासनका गफ दिएर सोझासाधु गरिवगुरुवाहरुको सातोपुत्लो लिनु भएकोमा तपाईँलाई मुरीमुरी पुष्पगुच्छा अर्पण π

बहुसंख्यक श्रमिकको प्रतिनिधि भएर तिनै श्रमिकको हकहितमा भन्दा ठालुहरुका जाँडपार्टीमा बसेर आलुका गफ गर्ने र म्यारिज खेलेर मेहफिल जमाउने अनि आलोचना कमाउने तर कसैले छिरिक्क बोल्यो वा लेख्यो भने त्यसको घाँटी समाउने लिडरलाई निडर भन्नु कि लिँडे भन्नु ? डाको न बोलायो, लिँडे पुच्छर डोलायो ।

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस