रोज्छ्यौ तिमी सूर्यमुखी, गुलाब छ मसँग त

रोज्छ्यौ तिमी सूर्यमुखी, गुलाब छ मसँग त
मगमगाउने पिरतीको, सुवास छ मसँग त ।

मध्ये रात जूनको साथ टोलाएर बस्छ्यौ किन ?
भरोषाको लालीमय, प्रभात छ मसँग त ।

मेरो विश्वास छैन भने, सोध के के सोध्नुपर्छ
तिम्रा हरेक सवालको, जवाफ छ मसँग त ।

मेरा हर अनुरोधलाई, स्वीकार गर भन्दिन म
तर नयाँ जिन्दगीको, प्रस्ताव छ मसँग त ।

आजसम्म पाएकोछु, जे–जे मैले चाहेकोछु
साँच्चै भनूँ–मात्रै तिम्रो, अभाव छ मसँग त ।

तिब्वत दर्लामी
काभ्रे, साल्धारा

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस