बिधुवाको तीज


बिधुवाको तीज
भदौको महीना बादल फाटेर सूर्य कहिल्यै ङिच्च दाँत देखाउँदैथ्यो भने कहिले ओठ लेब्राउँदै बादलुको घुम्टो भित्र लुक्न जान्थ्यो । मृगको बच्चो झैं चञ्चल बनेको सूर्य देखेर म त्यसै–त्यसै मुग्ध बनेकी थिएँ । त्यसै–त्यसै फुरुङ्ग भएर चङ्गा झैं उडिरहेको मेरो मन चमेलीको निन्याउरो अनुहार देखेर लट्टाइमा बेरिएको धागो अड्के झैं मेरो आँखा अनायासै उसको अनुहारमा गएर टक्क अड्यो । म उसलाई राम्रोसँग केलाइरहेकी थिएँ । ऊ भने आफ्नो कपालको चुल्ठो सुम्सुम्याउँदै तल गल्लीमा हिँडिरहेका दोहोरी लत्ता महिलाहरुको हुलमा हराइरहेकी थिई । 

गहनाले झकिझकाउ महिलाहरु रातो सारीमा सजिएर आ–आफ्नो हैसियतको परिचय दिँदै आ–आफ्नो बखान सुनाउँदै समूह–समूहमा बाँडिएर हिँडिरहेका थिए । मेरो बिचारमा उनीहरुले सामूहिक दर खाने कार्यक्रम तय गरेको हुनुपर्छ । ती महिलाहरुको चहलपहल रोकिएपछि चमेली आफ्नो अतीतलाई सम्झेर होला केहीबेर त्यही तलको गल्लीलाई हेर्दै टोलाइरहेकी थिई । उसको रातो सारीमा सजिने सबै रहर उसको लोग्नेले नै लिएर गएको थियो भनौं या यही पुरुषप्रधान समाजले खोसेको भनौं ।

ऊ विधुवा भएदेखि उसले कहिल्यै पनि समाजको अगाडि श्रृङ्गार–पटार गरेर हिँडेको मैले देखेको छैन । उसले रातो लुगा , चुरा–पोते , गरगहना सबै आफ्नो पतिको मृतआत्माको चीरशान्तिको लागि त्यागेर समाजमा लोग्ने टोक्ने आइमाइको पगरी गुथेर एक्लो निरीह जिवन विताइरहेकी थिई । आफ्नो भल्ट्याङ–भुल्टुङको खुशीका लागि आफू जिउँदै मरेर बाँचेकी छे ऊ । म उसलाई पढिरहेकी थिएँ । उसका आँखा गल्लीबाट उठेर मेरो आँखामा आएर ठोकिन्छ । उसले मलाई देखेर वेदना मिश्रित हाँसो फिस्स हाँसिदिई । मैले पनि उसलाई साथ दिएँ । उसको पीडाले बलिरहेको आगोमा घिउ थप्न मलाई मन लागिरहेको थिएन । त्यसैले म कुरा कसरी शुरु गरुँ भनेर बडो असमञ्जस्यमा परिरहेकी थिएँ तर उसैले कुरा शुरु गरी ।

ऊ भन्दै गई “ दिदी यो चाडपर्व पनि मेरो लागि त पीडा थप्न आएजस्तो लाग्छ । चाडवाड भनेको आफन्तसँग भेटघाट गराउने माध्यम मेरो लागि त झन् आफन्त–आफन्त बीच नभरिने खाल्डो बनाउने माध्यम पो बनेको छ । हेर्नुस् न मेरो श्रीमानको पद , जागिर रहेसम्म सबै हाइ–हाइ गर्थे । घरमा पाहुनाले खचिखचाउ हुन्थ्यो । नाता नपर्नेहरु पनि नाता जोडेर आउने गर्थे तर अहिले श्रीमानको मृत्यु भएदेखि सबै आफन्तहरु टाढिन मात्र खोज्छन् । श्रीमानको हाइ–हाइ भएको बेलामा मलाई पन्ध्रदिन अगाडिदेखि फुर्सद हुँदैनथ्यो । आफन्तकहाँ जानलाई भ्याइनभ्याई हुन्थ्यो तर श्रीमानको मृत्यु भएपश्चात त सबै मदेखि टाढिन मात्र खोज्छन् । बाटोमा जम्काभेट भयोभने पनि सकेसम्म कुरै गर्न रुचाउँदैनन् । कुरा गर्नेहरु पनि होच्याएर मात्र बोल्छन् । ऊ भन्दै थिई दिदी मेरो लागि त चाडपर्वहरु अतीतलाई झनै गहिरोसँग उदिङ्ग्याउने घाउ बनेर आउँछन् । ”

म उसको दुःख र विषादले भरिएका धारा प्रवाह स्वरहरुलाई सुनिमात्र रहेकी थिएँ । विरक्तिएका भावनाहरुले मलाई थप्पड हानिरहेका थिए । ती थप्पडहरुलाई मुटु गाँठो पारेर सहिरहेकी थिएँ किनकी म पनि यस समाजमा रहेर अन्धविश्वासले गाडेको जरालाई उप्काउन सकिरहेकी थिइन । ऊ जस्ता सबै एकल महिलाको लागि मैले आजसम्म केही आवाज उठाउन नसकेकोमा म आपूmलाई आफै धिक्कारिइ मात्र रहेकी थिएँ ।

टीका खरेल सुवेदी
कुलेश्वर , काठमाण्डौं

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस